फर्निचर तथा फर्निसिङ क्षेत्रका समस्या र समाधान - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Friday, September 21, 2018

फर्निचर तथा फर्निसिङ क्षेत्रका समस्या र समाधान

नेपालको फर्निसिङ क्षेत्रमा खासै समस्या देखिएको छैन । अधिकांश फर्निसिङका सामान आयात हुने गरेका छन् । त्यसो हुँदाहुँदै पनि नेपाली फर्निसिङ क्षेत्रमा ठूलो फड्को मार्ने काम भने भएको छ । यति, हेरिटेज, एसटीजस्ता नेपाली उत्पादनका फ्लोरिङ कार्पेटहरू उत्पादन भइरहेका छन् ।

नेपाली गलैँचा त भई नै हाल्यो । त्यस्तै म्याट्रेसको उत्पादन पनि अहिले नेपालमै भइरहेको छ । केही स्प्रिङ म्याट्रेसलाई छाडेर हेर्ने हो भने म्याट्रेस नेपालमै उत्पादन हुन्छ । तर, कच्चा पदार्थ भने सबै विदेशबाटै आउँछ । पर्दाका सामान चीनबाट आउँछ । सोफाका कपडाहरू भारतबाट आउँछन् । केही तेस्रो मुलुकबाट पनि आउँछ ।

ओम बस्नेत,महासचिव, फर्निचर तथा फर्निसिङ व्यवसायी संघ, काठमाडौं
उद्योग स्थापना गर्ने कुरा त्यति सहज छैन । आधुनिक मेसिन ल्याउँदा त्यसमा राज्यले दिनुपर्ने सेवा सुविधा तथा गर्नुपर्ने सहयोगमा राज्य त्यति उदार हुन सकेको छैन । स्वदेशी फर्निचरको माग र बजार राम्रो हुँदाहुँदै पनि अहिले कामदारको समस्या टड्कारो रूपमा देखिएको छ । युवाहरूमा केही समय काम सिक्ने र बिदेसिने प्रवृत्ति बढेको छ । उनीहरूको यो सोचलाई बदल्न सकिएको छैन । हामी तालिम दिएर दक्ष र सक्षम कामदार उत्पादन गर्न सक्छौँ, तर सिकायो–सिकायो जिल्ल पर्नुपर्ने अवस्था छ ।

फर्निचरको मुख्य कच्चा पदार्थ भनेको काठ नै हो । काठको समस्या पनि त्यत्तिकै छ । नेपाली बजारमा पर्याप्त रूपमा काठ उपलब्ध छैन । नेपालमा भएका थोरै काठ पनि धेरै नै महँगा छन् । त्यसैले म्यानमार, मलेसियालगायतका देशबाट काठ आयात गर्नु परिरहेको छ । यता राज्यले काटेर राखेका काठ समयमै बिक्री नगर्दा कुहिएर बसेको पनि देखेका छौँ । यसले काठको अभाव सिर्जना मात्र भएको छैन, राज्यको आय पनि घटेको छ ।

अर्को कुरा भनेको नयाँ प्रविधि भित्र्याउन राज्यले प्रोत्साहन गर्नुपर्ने हो । राज्यबाट त्यो हुन सकेको छैन र व्यवसायीले पनि आँट गर्न सकेका छैनन् । अहिले चीन, ताइवान, मलेसियालगायतका देशबाट तयारी फर्निचर आयात भइरहेको छ । त्यसलाई रोक्ने हो भने उनीहरूले प्रयोग गरिरहेको प्रविधि भित्र्याउनुपर्छ । त्यस्तो गर्न सकिए उनीहरूको जस्तै उत्पादन यहीँ गर्न सकिन्छ । त्यसका लागि दक्ष जनशक्ति पनि चाहिन्छ । त्यस्तो जनशक्ति उत्पादन गर्ने व्यवस्था पनि सरकारले गर्नुपर्छ ।

अहिले नेपालमा प्लास्टिक फर्निचरहरू पनि उत्पादन हुन्छन् । डल्फिन, मेरिगोल्ड, सुप्रिम, युनाइटेडलगायतका ब्रान्डमा प्लास्टिक फर्निचर उत्पादन भइरहेका छन् । सरकारले आयातभन्दा नेपालमै उत्पादन भएका वस्तु प्रयोग गराउने नीति ल्याउने हो भने राष्ट्रिय अर्थतन्त्रलाई नै फाइदाजनक हुन्छ ।

चीनबाट आयात भएका फर्निचर तुलानात्मक रूपमा सस्ता छन् । त्यसको अर्थ उसको उत्पादन लागत कम छ । तर, हामीले आधुनिक प्रवधिको विकास तथा प्रयोग यहीँ गर्न सक्यौँ भने आयात रोक्न सक्छौँ । चीनबाट आयात गरिएका फर्निचर हेर्नमा आकर्षक त छन्, तर बलिया छैनन् । ग्राहकले अहिले बलियो भन्दा पनि सस्तो र हेर्दा आकर्षक खोजिरहेका छन् ।

अहिले मजदुरका समस्या केही कम भएका छन् । तर, पहिले लामो समय मजदुर समस्याकै कारण उद्योग अघि बढ्न सकेका थिएनन् । विगतमा लोडसेडिङ, कच्चा पदार्थको अभावजस्ता कारणले पनि नेपाली फर्निचर उद्योगले गति लिन सकेन । तर, अझै पनि समय घर्किसकेको छैन । राज्यले नेपालमा आयात किन बढ्दै गइरहेको छ भन्ने कुरा बुझेर स्वदेशी उद्योगलाई प्रोत्साहन गर्नुपर्छ । राज्यले नै सीप सिक्न छोटो समयका लागि विदेशी ठूला कम्पनीमा कामदार पठाउने व्यवस्था गर्दा झनै राम्रो हुन्छ । निजी क्षेत्रको मात्र मुख ताकेर हुँदैन । सरकारले पनि हातेमालो गर्ने योजना ल्याउनुपर्छ ।

 

The post फर्निचर तथा फर्निसिङ क्षेत्रका समस्या र समाधान appeared first on Naya Patrika.



from Naya Patrika https://ift.tt/2QQaFNc

No comments:

Post a Comment

Post Bottom Ad

Pages