बेसीशहर नगरपालिकाले नगरपालिकाभित्रका ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । २८ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा नगरपालिकाले ११ वटै वडाबाट अति विपन्न अवस्थाका ज्येष्ठ नागरिकलाई नगद सहित साम्मान गरेको हो ।
ज्येष्ठ नागरिक मानवअधिकार अभियान्तहरुको अभिनन्दन गरौं भन्ने नाराका साथ मनाईएको दिवसमा ६० वर्ष माथिका २२ जना वृद्ध–वृद्धालाई जनही एक हजार रुपैयाँ, कम्मल, डायरी र कलम प्रदान गर्दै सम्मान गरिएको नगरप्रमुख गुमानसिंह अर्यालले बताए ।
नगरप्रमुख गुमानसिंह अर्यालले जिन्सी सामान र उपप्रमुख लक्ष्मीदेवी अधिकारीले नगद प्रदान गरेका छन् । उमेर पाकेका आफुजस्ता धेरै बुढाबुढीलाई एकैठाउँमा भेला गराउँदा रमाईलो लागेको बेसीशहर नगरपालिका ३ गाउँशहरकी ८५ वर्षीया धनकुमारी थापाले बताईन् ।
बुढ्यौली लागेपछि हिँड्न सकिँदैन तर मन चैं जताततै पुग्छ, उनले भनिन्, ‘धेरैपछि बेसीशहर हेर्न पाईयो, आफुजस्तै संगि भेट्न पाईयो, बाबु नानीहरुले पैसा र ओढ्ने पनि दिए साह्रै खुशी लाग्यो बा ।’
कम्मल र पैसा पाएपछि खुशी भएका बेसीशहरका तिले मौरतीले पनि बुढापाकालाई सम्झिएर माया गर्दै सहयोग समेत गरेकोमा नगरपालिकाका जनप्रतिनिधिलाई धन्यवाद दिए ।
परिवर्तन हुन्छ, विकास हुन्छ, बुढाबुढीलाई सरकारले सहयोग गर्छ भन्ने सुनेको थिएँ,’ उनले खुशी हुँदै भने, ‘भत्ता त खाईएकै थियो, अरु–अरु सामानहरु पनि पाईयो ।’
बेसीसहर ११ का सुनकाशी सार्कीले रमाईलो मानेर गोजीमा राखेको कलम र डायरी देखाउँदै पढ्दै गरेको नातिलाई उपहार दिने बताए । बेसीसहर भलुवाटारका ८० वर्षीय आईते विश्वकर्माले भने खाजामा पाएको फ्रुटी नातिनीलाई लगिदिने, नगद रुपैयाँले एउटा छाता र अरु सामान किन्ने बताए ।
बेसीसहर बजार आसपास देखि गाउँशहर, पुरानकोट, नाल्मा, उदीपुर, चिती जस्ता टाढाका वस्तीबाट आएका वृद्ध–वृद्धाहरुले एकापसमा चिनचान र कुराकानी गर्दै रमाईलो पनि गरे ।
कार्यक्रममा नगरप्रमुख अर्यालले हरेक छोराछोरीले आफ्ना बाबुआमाको दुःखको गुन तिर्ने मात्रै हैन उनीहरुको दुःखको व्याज स्वरुप माया ममताले लालनपालन र स्याहार गर्नुपर्ने बताए ।
नगर उपप्रमुख अधिकारीले वृद्ध–वृद्धाहरुलाई स्वागत गर्दै हरेक मानिसले उमेर अनुसारका अवस्थाहरु भोग्नु पर्ने भएकाले आफु पनि भोली वयोवृद्ध हुन्छु भन्ने अनुभूत गरेर बाबाआमालाई माया गर्नुपर्ने बताईन् ।
The post बेसीशहरका ज्येष्ठ नागरिकलाई नगदसहित सम्मान appeared first on Naya Patrika.
from Naya Patrika https://ift.tt/2DP1gmW

No comments:
Post a Comment