साबिक विजेता नेपालले बंगलादेशमा जारी बंगबन्धु गोल्डकप च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा मंगलबार ताजिकिस्तानविरुद्ध प्रतिस्पर्धा गर्दै छ । सन् २०१६ मा नेपालले बहराइनलाई ३–० ले पराजित गर्दै बंगबन्धु फुटबल प्रतियोगिताको उपाधि जितेको थियो । बंगलादेशको सिलेटमा सञ्चालन भइरहेको प्रतियोगितामा नेपाललाई उपाधि दाबेदारका रूपमा हेरिएको छ । नेपाल ताजिकिस्तानलाई हराउँदै गतिलो सुरुवात गर्ने सोचमा छ ।
नेपालभन्दा माथि ताजिकिस्तान
फिफा वरीयतामा ताजिकिस्तान नेपालभन्दा ४० स्थान माथि छ । ताजिकिस्तान बलियो आत्मविश्वासका साथ मैदानमा उत्रनेछ । नेपाल पनि साबिक विजेताको छवि कायमै राख्ने ध्याउन्नमा हुनेछ । फिफा वरीयतामा नेपाल १ सय ६०औँ स्थानमा छ भने ताजकिस्तान १ सय २०औँ स्थानमा छ ।
इतिहासमा नेपाल कमजोर
ताजिकिस्तानविरुद्ध दुई खेल खेलेको नेपालले दुवै खेलमा हारको सामना गरेको छ । गतवर्ष नेपालले एएफसी एसियाकप छनोटमा दुईपटक प्रतिस्पर्धा गरेको थियो । नेपालले घरेलु मैदानमा भएको पहिलो खेलमा २–१ को हार बेहोरेको थियो । दोस्रो खेलमा नेपाल ताजिकिस्तानको मैदानमा ३–० ले पराजित भएको थियो ।
किरण र रोहितको अभाव
नेपालका नम्बर एक गोलरक्षक किरण चेम्जोङ र एट्याकिङ डिफेन्डर रोहित चन्द बंगबन्धु गोल्डकपमा हुनेछैनन् । किरण माल्दिभ्सको क्लब टिसी स्पोर्टस्मा आबद्ध भएकाले क्लबमै रहनेछन् । रोहित पनि इन्डोनेसियामा पेर्सिजा जकार्तामा व्यावसायिक फुटबल खेलिरहेका छन् । गत महिना साफ च्याम्पियनसिपमा दुवै खेलाडीले बंगलादेशमा प्रतिस्पर्धा गरेका थिए । बंगबन्धुमा भाग लिने–नलिने अन्तिम समयसम्म निर्णय नहुँदा उनीहरू नेपाली टिममा सहभागी हुन पाएनन् । समूह एमा रहेको नेपालले दोस्रो खेलमा अर्को बलियो टिम प्यालेस्टाइनसँग प्रतिस्पर्धा गर्नेछ । अघिल्लो चरणमा स्थान बनाउनका लागि पहिलो खेल जित्नुपर्ने दबाब नेपालसामु हुनेछ ।
छोटो तयारी
नेपाली टिमका प्रशिक्षक बालगोपाल महर्जनले प्रतियोगितामा भाग लिने–नलिने अनिश्चितताबीच अन्तिम समयमा भाग लिने निर्णय गरेकाले प्रभावकारी तयारी गर्न नपाएको बताए । यद्यपि उनले छोटो तयारीले पनि नेपालले ताजिकिस्तानलाई कडा टक्कर दिने विश्वास देखाए । उनले भने, ‘हाम्रो तयारी छोटो छ, तर विश्वमै सानो टिमले पनि ठूलो टिमलाई हराएको इतिहास भएको हुँदा नेपालले पनि ताजिकिस्तानलाई सहजै नतिजा सुम्पनेछैन ।’
उनले प्रतियोगिताकै कठिन समूह भएकाले नेपाल सम्हालिएर प्रस्तुत हुने बताए । कप्तान विराज महर्जनले अघिल्लो चरण प्रवेशका लागि खेल महत्वपूर्ण रहेको बताए । उनले भने, ‘हाम्रा लागि पहिलो खेलको ३ अंक सर्वाधिक महत्वपूर्ण छ । त्यसैले हामी जित्नकै लागि खेल्नेछौँ । गत वर्षको च्याम्पियन भएकाले नेपाललाई कुनै पनि टिमले सहज रूपमा लिएका छैनन् । अतः हामीले सबैलाई कडा चुनौती दिन सक्छौँ ।’
The post नेपालले ताजिकिस्तानको सामना गर्ने appeared first on Naya Patrika.
from Naya Patrika https://ift.tt/2xSCpsI

No comments:
Post a Comment