संखुवासभा । ट्राफिक प्रहरीले टेम्पोचालकबाट रकम असुल्ने गरेको पाइएको छ । संखुवासभाका टेम्पोचालकहरूबाट मासिक रूपमै रकम असुल्ने गरिएको रहस्य खुल्न आएको हो ।
अहिले जिल्लामा ६० भन्दा बढी टेम्पो सञ्चालनमा छन् । तर अधिकांश टेम्पो अनुमतिपत्र नभएका चालकहरूले चलाउने गरेका छन् । अनुमतिपत्र नभएकै कारण टेम्पो चालकले पनि मासिक रूपमा ट्राफिक प्रहरीलाई रकम बुझाउने गरेको एक चालकले नाम नबताउने सर्तमा जानकारी दिए । ‘मैले अग्रिम रूपमा तीन महिनाको भुक्तानी ३ हजार बुझाइसकेका छु,’ उनले भने, ‘अब अनुमतिपत्र जाँच परे पनि आफूलाई तीन महिनाका लागि कुनै डर छैन ।’ उनले थपे, ‘रकम बुझाउने म मात्र होइन, अनुपत्र नभएका अन्य चालकले पनि ट्राफिकलाई रकम बुझाएर मात्र सवारी चलाउने गरेको छन् ।’
सदरमुकाम खाँदबारी, तुम्लिङटार, मानेभन्ज्याङ, चिचिला, खराङ, चैनपुर, सिद्धपोखरीका सडकमा टेम्पो सञ्चालनमा छन् । ट्राफिक प्रहरीले टेम्पो मात्र नभई जिल्ला सञ्चालित अनुमतिपत्र नभएका अन्य सवारी साधनबाट समेत मासिक रूपमा रकम असुल्ने गरेको पाइएको छ ।
यकिन तथ्याक नभए पनि सदरमुकाम खाँदबारीमा ४० भन्दा बढी टेम्पो सञ्चालनमा छन् भने चैनपुरमा नगरपालिकामा २४ वटा टेम्पो रहेका छन् । यात्राका लागि सहज र सुविधाजनक भए पनि अनुमतिपत्र नभएका चालकले टेम्पो चलाउँदा जोखिममा यात्रा गर्नुपर्ने गुनासो आउने गरेको बताइएको छ । यसरी खुलेआम ट्राफिक प्रहरीले रकम असुल्दा समेत सम्बन्धित निकाय बेखबरजस्तो बनेको यात्रुको गुनासो छ ।
from Rajdhani Daily https://ift.tt/2RXgh8n
No comments:
Post a Comment