काठमाडौं। ‘चर्पी हाम्रो प्राकृतिक आवश्यकता’ मूल नारासाथ नेपाल यातायात मजदुर संघले ‘विश्व चर्पी दिवस’ मनाएको छ ।
१९ नोभेम्बर अर्थात् ‘विश्व टवाइलेट दिवस’को अवसरमा संघले आइतबार काठमाडौं महानगरपालिकामा ज्ञापनपत्र बुझाउँदै राजधानीका सबै बसस्टपमा व्यवस्थित चर्पीको माग गरेको हो ।
ज्ञापनपत्रमा अव्यवस्थित बस स्टपमा पर्याप्त चर्पी व्यवस्था गर्न जोड दिइएको छ । उपाध्यक्ष सुमन घले नेतृत्वको टोलीले काठमाडौंका १३ स्थानमा मात्रै चर्पी रहेको औंल्याएको छ । बसस्टपमा यातायात श्रमिकलाई युनियन परिचयपत्रका आधारमा सफा तथा पर्याप्त स्थानमा निःशुल्क चर्पी व्यवस्था गर्नसमेत ज्ञापनपत्रमा माग गरिएको छ ।
संघले चर्पी महिला यातायात मजदुरमैत्री हुनुपर्ने, युनियन परिचयपत्रका आधारमा निःशुल्क हुनुपर्ने, सबै बसस्टपमा चर्पी व्यवस्थापन हुनुपर्ने, सञ्चालित चर्पीमा बेलाबेला अनुगमन हुनुपर्ने भन्दै आठबुँदे मागपत्रसमेत महानगर प्रशासन प्रमुख ज्ञानेन्द्र कार्कीलाई बुझाएको छ ।
सोही अवसरमा ज्ञापनपत्र बुझ्दै प्रशासन प्रमुख कार्कीले महानगरले सडक विभागसँग १४२ स्थानमा चर्पी निर्माणका लागि स्थान माग गरेकामा हाललाई ४२ स्थान उपलब्ध गराएको अवगत गराए । आगामी एक साताभित्र ती स्थानमा ‘स्मार्ट चर्पी’ निर्माणका लागि टेन्डर प्रक्रिया थालनी र यातायात मजदुरमैत्री चर्पी बनाउन प्रयास गर्ने प्रतिबद्धतासमेत उनले व्यक्त गरे ।
काठमाडौंदेखि मोफसलका स्थानमा पनि चलायमान पेसामा कार्यरत यातायात मजदुरका लागि देशव्यापी व्यवस्थित चर्पी निर्माण अभियान थाल्ने संघ उपाध्यक्ष घलेले जानकारी दिए ।
from राष्ट्रिय – Rajdhani Daily https://ift.tt/2A2WmgS
No comments:
Post a Comment