कर्मचारी समायोजन अध्यादेशबारे लोकसेवामा छलफल सुरु, केही प्रावधान संविधानविपरीत भन्दै आयोग गम्भीर - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, November 20, 2018

कर्मचारी समायोजन अध्यादेशबारे लोकसेवामा छलफल सुरु, केही प्रावधान संविधानविपरीत भन्दै आयोग गम्भीर

 

काठमाडौं। लोकसेवा आयोगले सरकारद्वारा परामर्शका लागि पठाइएको समायोजन अध्यादेशबारे छलफल  थालेको छ । आयोगका अध्यक्ष उमेश मैनालीको अध्यक्षतामा सोमबार आयोगमा बसेको बैठकमा समायोजन अध्यादेशबारे आयोगका सदस्यहरूले आआफ्नो धारणा राखेका छन् ।

धारणा राख्ने क्रम जारी रहेकाले आयोगले सोमबार यस सम्बन्धमा कुनै निर्णय गर्न नसकेको आयोग स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार सरकारद्वारा तयार पारिएको कर्मचारी समायोजन अध्यादेशमा रहेका कतिपय प्रावधानहरू संविधानविपरीत रहेको भन्दै  आयोगका पदाधिकारीहरू  गम्भीर बनेका थिए ।

गत साता मात्रै सरकारले  सो अध्यादेशलाई परामर्शका लागि लोकसेवामा पठाउने निर्णय गरेको थियो । स्रोतका अनुसार समायोजन अध्यादेशमा कतिपय विषय संविधानविपरीतका  पाइएकाले  आयोगले सरकारलाई संविधान नकुल्चन सचेत पार्नेसम्मका सुझाव दिन सक्ने जनाइएको छ ।

आयोगका एक अधिकारीका अनुसार अध्यादेशमा रहेको कर्मचारीलाई एक तह बढुवा गर्ने प्रावधानप्रति आयोगको गम्भीर असहमति रहनेछ । यस्तै विकास समिति र स्थानीय तहमा रहेर तोकादेशमा जागिर खाएका कर्मचारी र कडा मिहिनेत गरी लोकसेवाबाट छनोट भई आएका निजामती कर्मचारीलाई एउटै डालोमा राखेर पदोन्नति गर्ने र समायोजन गर्ने व्यवस्थाप्रति आयोगको गम्भीर असहमति रहने बताइएको छ  । यो  कार्य संविधानविपरीत रहेकाले  संविधानलाई पालना गर्ने गरी कानुन ल्याउन आयोगले सरकारलाई परामर्श दिने आयोगस्रोतको दाबी छ ।

नेपालको संविधानको धारा २४३ को उपधारा ६  अनुसार कर्मचारीको सेवा सुविधा र सर्तसम्बन्धी कानुन बनाउनुभन्दा पहिला लोकसेवा आयोगको परामर्श लिनुपर्ने व्यवस्था छ । त्यसरी परामर्श लिँदा  लोकसेवाले दिएको परामर्श मान्नु सरकारको नैतिक दायित्व रहन्छ ।

आयोगका निमित्त सचिव किशोरजंग कार्कीले समायोजन अध्यादेशबारे आयोगमा सामान्य छलफल मात्रै सुरु भएको जानकारी दिए । सदस्यहरूले धारणा राख्ने क्रम सुरु भएको र छिट्टै परामर्शसम्बन्धी निर्णय हुने निमित्त सचिव कार्कीले जानकारी दिए ।

‘आयोगले अन्तिम निर्णय नगर्दासम्म  कस्तो परामर्श दिन्छ भन्न सक्ने अवस्था छैन तर आयोगले संविधानमा टेकेर उपयुक्त परामर्श दिनेछ,’ निमित्त सचिव कार्कीले राजधानीसँग भने ।

यता सरकार भने लोकसेवा आयोगबाट परामर्श आएलगत्तै सो अध्यादेशलाई मन्त्रिपरिषद्बाट स्वीकृत गरी लागू गर्ने तयारीमा जुटेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता अधिकारीले आयोगबाट परामर्श आउनासाथ त्यसलाई संलग्न गरी अध्यादेश पुनः मन्त्रिपरिषद्मा पठाइने जानकारी दिए । समायोजन अध्यादेश हतारमा बनाइएको र यसले वास्तविक रूपमा समायोजन गर्नै नसक्ने भन्दै कर्मचारीहरूबाट भने  असन्तुष्टि व्यक्त हुँदै आएको छ ।

 

 



from राष्ट्रिय – Rajdhani Daily https://ift.tt/2Ts3w7h

No comments:

Post a Comment

Post Bottom Ad

Pages