काठमाडौं। लगातार एक सातादेखि घटिरहेको सेयर बजारमा बुधबार झिनो सुधार देखिएको छ । बुधबार सेयर बजारमा एक अंकको वृद्धि भएको छ । सो सुधारसँगै सेयर बजार हरियो देखियो भने यसमा थप सुधार आउने समेत लगानीकर्ताले आस गरेका छन् । कारोबार सुरु भएदेखि नै बजार घटेको थियो भने डेढ घण्टापछि विस्तारै सुधार आई अन्तिमसम्ममा बजार हरियो देखिएको थियो । सेयर बजार एक सातामा २६ दशमलव ७२ अंकले घटेको थियो । नेप्सेका अनुसार बुधबार १५१ वटा कम्पनीको २६ करोड ८८ लाख रुपैयाँको कारोबार भयो ।
बुधबार वाणिज्य बैंकको उपसूचक शून्य दशमलव १२ प्रतिशत, विकास बैंकको शून्य दशमलव ५६ प्रतिशत, फाइनान्स समूहको शून्य दशमलव १६ प्रतिशत, अन्य शून्य दशमलव ३१ प्रतिशत र जीवन बिमा कम्पनीको शून्य दशमलव ५८ प्रतिशतले बढेको नेप्सेले जनाएको छ । बुधबार नबिल बैंकको ३ करोड २० लाख रुपैयाँको प्रोमोटर सेयरको कारोबार भएको छ । बुधबार यस बैंकको सबैभन्दा बढी कारोबार भएको हो । सांग्रिला डेभलपमेन्ट बैंकका सेयरधनीले सबैभन्दा धेरै ४ दशमलव २९ प्रतिशतले कमाएका छन् भने एभरेस्ट इन्स्योरेन्स कम्पनीका सेयरधनीले ७ दशमलव ४० प्रतिशतले घाटा बेहोरेका छन् ।
ब्रोकरलाई नेप्सेको निर्देशन
अब सबै ब्रोकर कार्यालयमा सूचना प्रविधिसम्बन्धी जनशक्ति राख्नुपर्ने भएको छ । अनलाइन कारोबारमा समस्या आएपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आईटी प्राविधिक राख्न निर्देशन दिएको हो । अनलाइन कारोबारसँग सम्बन्धित लगानीकर्ताबाट गुनासो आउन थालेपछि प्राविधिक राख्न नेप्सेले निर्देशन दिएको जनाएको छ ।
गत २० कात्तिकदेखि नै नेप्सेले ५० वटै ब्रोकर कार्यालयमार्फत पूर्णस्वचालित अनलाइन सेयर कारोबार सुरु गरेको थियो । नेप्सेले पहिलो चरणमा नयाँ सफ्टवेयरमार्फत कारोबार गराउन समस्या भएको थियो ।
from Rajdhani Daily https://ift.tt/2FBr3Qp
No comments:
Post a Comment