जिल्ला कारागार रोल्पा जीर्ण बनेको एक दशकभन्दा बढी भइसक्यो । यो अवधिमा कैयौँपटक मन्त्री र नेताले कारागार निरीक्षण गरिसकेका छन् । उनीहरूले हरेकपटकको निरीक्षणमा कारागार मर्मत गर्नै आश्वासन दिन्छन् । तर, कारागारको मर्मत भने सुरसार नै भएको छैन ।
कारागार जीर्ण बनेका कारण कैदीबन्दी स्याहार्न मुस्किल बनेको कारागार प्रशासनले जनाएको छ । जेलर प्रदीपकुमार रेग्मीका अनुसार जीर्ण र साँघुरो कारागारका कारण हरेक दिन कैदीबन्दीबीच झगडा हुन्छ । खाने र सुत्ने ठाउँसमेत नभएकाले पालो गर्नुपरेको जेलर रेग्मीको भनाइ छ । ‘हामीले पटकपटक यसबारे जानकारी गराउँदै आएका छौँ,’ जेलर रेग्मीले भने, ‘अनुगमन मात्रै हुन्छ, काम हुँदैन ।’
०३५ सालमा निर्माण भएको यो कारागारको पर्खाल र अन्य संरचना निकै कम्जोर बनिसकेको छ । ढुंगा र माटोबाट निर्मित कारागार बस्न योग्ग छैन तर विकल्प नभएकै कारण जोखिम मोलेर कैदीबन्दीलाई राख्दै आएको कारागार प्रशासनले जनाएको छ ।
कारागार व्यवस्थापन अस्तव्यस्त
जेलर प्रदीपकुमार रेग्मीले भवनका साथै कारागारमा शुद्ध पिउने पानी, मनोरञ्जनका लागि आवश्यक सामग्री, खेल मैदान, सीप आर्जनका लागि आवश्यक कच्चा पदार्थ पनि अभाग रहेको बताए । ढुंगाको छानो वर्षाभर चुहिने र हिउँदमा जाडोले सताउने गरेको उनको भनाइ छ । त्यस्तै, अँध्यारो कोठामा कोचिएका कैदीबन्दी उडुस, उपियाँबाट पीडित छन् । कैदीबन्दीले बाँसद्वारा निर्माण गरिने विभिन्न वस्तु, ढाकाटोपी, स्विटर, ऊनका वस्तुहरू निर्माण गर्दै आएका छन् । उनीहरूले निर्माण गरेका वस्तुहरू बिक्रीका लागि समेत समस्या हुने रेग्मीको भनाइ छ । निर्मित सामग्री विक्री नहुँदा भेटघाटमा आउने आफन्तलाई सामग्री दिने गरेको कैदीबन्दीहरू बताउँछन् ।
क्षमताभन्दा दुईगुणा कैदीबन्दी
जिल्ला कारागार रोल्पाको भवन क्षमता पुरुष ३५ र महिला १३ जनाको हो । तर, यहाँ पुरुष कैदीबन्दी कारागार क्षमताभन्दा दोब्बर छन् । ३५ जनाको क्षमता भए पनि ७२ जना पुरुष कैदीबन्दी छन् भने ६ जना महिला छन् । कैदीको संख्या बढ्दै गएकाले समस्या थपिने जेलर प्रदीपकुमार रेग्मी बताउँछन् ।
गत बिहीबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले कारागारको निरीक्षण गरेका थिए । उनले भौतिक संरचनाका साथै कैदीबन्दीको अवस्थाबारेसमेत प्रशासन र कैदीबन्दीसँग जानकारी लिएका थिए । कैदीबन्दीहरूको गुनासोपछि मन्त्री पुनले कारागारलाई सुधारगृहका रूपमा परिणत गर्न आवश्यक रहेको र त्यसका लागि पहल गर्ने आश्वासन दिएका थिए ।
The post रोल्पा कारागार जीर्ण appeared first on Naya Patrika.
from Naya Patrika https://ift.tt/2Br3NjR
No comments:
Post a Comment