गरिबी निवारण कोष विघटन, प्रधानमन्त्रीकै अगाडि पदाधिकारीको बाझाबाझ - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, November 21, 2018

गरिबी निवारण कोष विघटन, प्रधानमन्त्रीकै अगाडि पदाधिकारीको बाझाबाझ

काठमाडौं। गरिब जनताका लागि काम गर्न गठन भएको गरिबी निवारण कोषका पदाधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीकै सामु बाझाबाझ गरेका छन् । पदाधिकारीबीचको विवाद र राजनीतिक हस्तक्षेपका कारण अन्ततः कोष विघटन हुन पुगेको छ ।

सरकारले विद्यमान कोषलाई खारेज गर्दै कोषले गर्दै आइरहेको सबै काम भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको महाशाखाअन्तर्गत राख्ने निर्णय गरेको छ । सरकारले कोषको सबै सम्पत्तिसमेत मन्त्रालयलाई हस्तान्तरण गर्ने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जानकारी दिएको छ ।
ओली प्रधानमन्त्रीमा नियुक्त भएपछि पहिलोपटक गत ८ भदौमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कोष सञ्चालक समितिको पहिलो बैठक बसेको थियो ।

कोषको सञ्चालक समितिको अध्यक्षमा प्रधानमन्त्री रहने व्यवस्था छ । प्रधानमन्त्रीको अध्यक्षतामा बैठक सुरु हुनै लाग्दा कोषका तत्कालीन उपाध्यक्ष डा. यमबहादुर थापा र बोर्ड सदस्य नारायण कोइराला प्रधानमन्त्रीकै अगाडि बाझ्न थालेपछि प्रधानमन्त्री ओली कोषका पदाधिकारीसँग रुष्ट बनेका थिए ।
पदाधिकारीहरू आफ्नै सामु बाझाबाझ गरेपछि रुष्ट भएका प्रधानमन्त्री ओलीले कोषका पदाधिकारी र उनीहरूले विगतमा गरेका क्रियाकलापका बारेमा छानबिन थालेका छन् । प्रधानमन्त्री ओलीकै निर्देशनमा हाल राष्ट्रिय सतर्कता केन्द्रले लेखा उपसचिव यामप्रसाद भुसालको संयोजकत्वमा छानबिन टोली गठन गरेको छ । छानबिन टोलीले कोषको विगतका गतिविधि र पदाधिकारीमाथि छानबिन गरिरहेको छ ।
विभिन्न जिल्लामा योजना छनोट तथा कार्यक्रम छनोट गर्ने क्रममा कोषका पदाधिकारीबीच तीव्र विवाद रहँदै आएको कोष स्रोतले जानकारी दिएको छ । ‘प्रधानमन्त्रीकै अगाडि बाझेर उहाँहरूले कोषको गरिमा घटाउने काम गर्नुभयो, जसले गर्दा कोष नै विघटन हुन पुग्यो,’ कोषका एक कर्मचारीले भने ।

सतर्कता केन्द्रले छानबिन थालेपछि कोषका उपाध्यक्ष थापा तथा कार्यकारी निर्देशक नहकुल केसीलगायत झन्डै एक दर्जन कर्मचारीले राजीनामा दिएका छन् । कोष स्रोतका अनुसार कोषका अन्य पदाधिकारी र कर्मचारी पनि राजीनामा दिने मनस्थितिमा पुगेका छन् । राजीनामा दिएकाहरूको राजीनामा भने प्रधानमन्त्री कार्यालयले स्वीकृत गरेको छैन ।
कोषमा चालू आर्थिक वर्षमा विभिन्न कार्यक्रम र योजना सञ्चालन गर्न सरकारबाट ५१ करोड र दातृ निकायबाट ४८ करोड रुपैयाँ प्राप्त भएको थियो । हाल सो रकम परिचालनमा सरकारी स्तरबाट असहयोग भएको दाबी पदाधिकारीले गरेका छन् भने सरकारले रकममा अनियमितता भएको भन्दै छानबिन थालेको छ ।

कोषका पदाधिकारीले भने सरकारले पूर्वाग्रही किसिमले राजीनामा दिन बाध्य पारेको बताएका छन् । प्रधानमन्त्री कार्यालयले कोषका पदाधिकारी तथा कार्यकारी निर्देशकलाई बोलाएर राजीनामा दिन दबाब दिँदै आएको उनीहरूको आरोप छ ।
कोषका कार्यकारी निर्देशक नहकुल केसीले सरकारलाई काम गर्न सहज होस् भनेर आफूले मार्ग प्रसस्त गरिदिएको बताए । कोषलाई पुनःसंरचना गर्ने भन्दै गरिबी निवारण कोषमा गाभिएको कार्यकारी निर्देशक केसीले जानकारी दिए । गरिबी निवारण कोष हेर्ने प्रधानमन्त्री कार्यालयका सचिव लालशंकर घिमिरेले कोषलाई सरोकारवाला मन्त्रालयका रूपमा रहेको भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत ल्याइएको जानकारी दिए । उनले भने, ‘कोषको पुनःसंरचना गरिएको हो, खारेजी गरिएको होइन ।’

सन् २००६ देखि गरिबी निवारण कोष ऐनमार्फत कोष सञ्चालन हुँदै आएको थियो । कोषलाई विश्व बैंकको अन्तर्राष्ट्रिय विकास संस्थाले सहयोग गर्दै आइरहेको छ । गरिब तथा पिछडिएका समूहलाई विकास प्रयासमा मूल वाहकका रूपमा संलग्न गराई बहिष्करणमा परेका समुदायलाई विकासको मूल प्रवाहमा ल्याउने उद्देश्य कोषले राखेको थियो । तर, कोषले सो उद्देश्यअनुसार काम गर्न नसकेको प्रधानमन्त्री मातहत रहेको राष्ट्रिय सतर्कता केन्द्रले जनाएको छ । केन्द्रको प्रारम्भिक अनुसन्धानका क्रममा पनि कोषमार्फत सञ्चालित कार्यक्रममा धेरै खालका विकृति देखिएको केन्द्रका अनुसन्धान अधिकारीले जनाएका छन् ।
केन्द्रले झन्डै १० वर्षअघि देखिकै फाइलका बारेमा अध्ययन अनुसन्धान थालेको जनाइएको छ । अनुसन्धान अधिकारीका अनुसार विशेषगरी कोषको खरिद प्रक्रिया, कर्मचारी भर्ना, परामर्शदाता नियुक्ति तथा भूकम्पका बेलामा गरिएको खर्चका बारेमा छानबिन थालिएको हो ।



from राष्ट्रिय – Rajdhani Daily https://ift.tt/2DQuJMn

No comments:

Post a Comment

Post Bottom Ad

Pages