जाजरकोट । जिल्लामा बालविवाह गर्ने क्रम पछिल्लो समय झन् बढ्न थालेको छ । पुरानो परम्परा, आधुनिक प्रविधिको दुरुयोग र अशिक्षाका कारण बालविवाह बढ्ने गरेको हो । बालविवाहका कारण पारिवारिक सम्बन्ध बिग्रने क्रम पनि उत्तिकै बढेको छ ।
जिल्लामा बालबालिकाको स्थिति प्रतिवेदनअनुसार विवाहित ६७ हजार ३३२ मध्ये ७४ प्रतिशतले बालविवाह गरेको उल्लेख छ । ४९ हजार ८६२ जनाले १९ वर्षमुनिको उमेरमा विवाह गरेको पाइएको छ । प्रतिवेदनका अनुसार १५ वर्षदेखि १९ वर्षसम्मको उमेरमा विवाह गर्ने ४४ हजार २९ बालबालिका छन् । त्यस्तै, १० वर्षकै उमेरमा विवाह गर्ने १६५ जना देखिएका छन् भने १० देखि १४ वर्षको उमेरमा विवाह गर्नेको संख्या ५ हजार ६६८ रहेको छ । बालविवाह गर्नेहरूमा बालकभन्दा बालिकाहरू बढी रहेका छन् ।
महिला तथा बालबालिका कार्यालय जाजरकोटको एक तथ्यांकअनुसार जिल्लामा बालविवाह गर्नेमध्ये ६२ दशमलव ८७ प्रतिशत बालिका र ३७ दशमलव १३ प्रतिशत बालक रहेका छन् । त्यस्तै, बालअधिकारको क्षेत्रमा काम गर्ने पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटका निर्देशक छवि पन्तका अनुसार बालबालिकाको स्थिति प्रतिवेदनमा उल्लेख भएभन्दा पनि बालविवाहको स्थिति भयावह रहेको छ ।
संस्थाको तर्फबाट पहिलोपल्ट जिल्लामा बालिका सम्मेलन गरी बालविवाह न्यूनीकरणका लागि सुरुवात गरेको पन्तले बताए । छेडागाड नगरपालिकाको आयोजना, सेभ द चिल्ड्रेनको आर्थिक सहयोग र पाँचताराको संयोजनमा जिल्लामा पहिलोपल्ट बालिका सम्मेलनको आयोजना
भएको हो ।
सम्मेलनमा सहभागी बालिकाहरूले बालविवाह रोकथामका लागि जिल्लाभरि नै स्थानीय सरकारले अभियान सञ्चालन गर्नुपर्ने र स्थानीय सरकार नै सक्रिय हुनुपर्ने माग गरेका छन् ।
कम उमेरमै विवाह गरेका कारण स्कुले बालबालिकाको पढाइसमेत प्रभावित हुने गरेको शिक्षकहरू बताउँछन् । घरायसी काम, गरिबी र आधुनिक प्रविधिको दुरुपयोगले बालविवाह गर्नेहरूको संख्या बढेको विरेन्द्र ऐश्वर्य माध्यमिक विद्यालयका प्रधानाध्यापक गोरखबहादुर सिंहले तर्क गरे । सरोकारवाला निकायले विद्यालयस्तरमा पनि परामर्शमूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने प्रअ सिंहले बताए । हरेक शैक्षिक सत्रमा कक्षा छोड्नेको अवस्था विश्लेषण गर्दा त्यसको कारण बाल विवाह नै मूल कारण भएको उनले बताए ।
बालविवाहका कारण समाजमा विकृति बढ्नुका साथै सम्बन्ध विच्छेदका घटनाहरू पनि अत्यधिक मात्रामा बढ्दै गएको जनाइएको छ । जिल्ला अदालत जाजरकोटले गत आर्थिक वर्षको मुद्दा फस्छर्योटबारे सार्वजनिक गरेको एक तथ्यांकमा सम्बन्ध विच्छेद भएका ५१ वटा जोडीमध्ये ४१ जोडीको उमेर २० देखि २३ बीचको रहेको छ । ती सबै जोडीको बिहे १९ वर्ष नहुँदै भएको प्रतिवेदनमा उल्लेख छ ।
सानैमा बिहे गरेका कारण गरिबी र परिवारमा असमझदारी हुँदा बिहे गर्ने उमेरमा ती जोडीको सम्बन्ध विच्छेद हुने गरेको अधिवक्ता सहदेव शाहले टिप्पणी गरे । सानै उमेरमा विवाह गर्ने र उमेर बढ्दै गएपछि पश्चताप गरेर सम्बन्ध विच्छेद गर्ने गरेको पाइएको उनले बताए ।
from राष्ट्रिय – Rajdhani Daily https://ift.tt/2S46soW
No comments:
Post a Comment