काठमाडौं। विमानस्थलको बक्यौता नतिरेपछि निजी वायुसेवा कम्पनी सौर्य एयरलाइन्सको नियमित तथा व्यावसायिक उडान आइतबार(आज)बाट रोकिने भएको छ ।
पछिल्लोसमय गैरआवासीय नेपाली घनश्याम अधिकारीको समूहले खरिद गरेको भनिएको आन्तरिक वायुसेवा कम्पनी सौर्य एयरलाइन्सले गत तीन महिनाको अवधिमा पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुझाउनुपर्ने चार करोड रुपैयाँ बक्यौता रकम अझैसम्म तिर्न नसकेकै कारण सो एयरलाइन्सको नियमित तथा व्यावसायिक उडान आइतबारबाट रोकिने अवस्थामा पुगेको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवा शुल्कबापतको ४ करोड रुपैयाँसमेत समयमा बुझाउन नसकेपछि विमानस्थल प्रशासनले सौर्य एयरलाइन्सको उडान नै रोकिने निर्णय गरेको हो । पहिलेका सञ्चालक विराटनगरका दीपक पोखरेल, दिनेश राठी, प्रदीप मुरारकालगायतको समूहबाट अहिले घनश्याम अधिकारीको समूहले खरिद गरेको तीन महिनासम्म ४ करोड रुपैयाँमा डेढ करोड रुपैयाँ सेवा शुल्कसमेत बुझाउन नसकेर उडान नै प्रभावित हुने अवस्था सिर्जना भएको विमानस्थल कार्यालयले जनाएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका महाप्रबन्धक राजकुमार क्षत्रीले सौर्यले यसअघि विमानस्थल प्रशासनलाई दिएको प्रतिबद्धता अनुसार समयमा बक्यौता नतिरेकाले आइतबारदेखि सो एयरलाइन्सको उडान रोक्ने जानकारी दिए ।
यस कम्पनीले शुक्रबार नै बक्यौता रकम तिर्ने प्रतिबद्धता गरेको थियो । तर, बिहीबार पुनः कुरा फेर्दै आइतबार १२ बजेअघि पैसा बक्यौता रकम ल्याएर बुझाउँछु भनेर जानकारी दिएको बताउँदै महाप्रबन्धक क्षत्रीले भने, ‘यसरी तारिख सार्नेको विश्वास गर्न सकिँदैन त्यसैले अब विमानस्थल कार्यालयले सौर्यको उडान आइतबारदेखि रोक्छ ।’
उनले त्यो एक÷दुई घण्टा जति पनि हुन सक्ने बताए । पूर्व निर्धारित समयतालिकाअनुसार आइतबार सौर्यको नियमित उडान समय मध्याह्न १२ बजेको मात्रै रहेको छ । सो समयको उडान रद्द भए सौर्य एयरका हवाई यात्रुसमेत प्रभावित हुनेछन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले पनि प्राधिकरणको विमानस्थल सेवा सुरक्षा नियमावलीअनुसार सौर्य एयरलाइन्सको नियमित तथा व्यावसायिक उडान रोकिने बताए । प्राधिकरणको सो नियमावली २०६७ को नियम ३० को उपनियम २ मा कुनै व्यक्ति वा निकायले ६० दिनसम्म सेवा शुल्क नतिरेमा उडानमा तत्काल रोक लगाइने व्यवस्था छ ।
विमानस्थल कार्यालयले गत एक महिनाअघिदेखि नै बक्यौता रकम उडाउन सौर्यको उडान एक घण्टा ढिला गरिदिएको थियो । गत महिना विमानस्थलले नियमित उडानमा ढिलाइ गरिदिएपछि केही रकम मात्र बुझाएर थामथुमको प्रयास मात्र सो कम्पनीले गर्दै आएको विमानस्थल कार्यालयले जनाएको छ ।
यसअघि पनि निरन्तर घाटा भएपछि पुराना सञ्चालक पोखरेल समूहले कुल ६७ करोड रुपैयाँमा सौर्य एयरलाइन्स कम्पनी बिक्री गरेको दाबी थियो ।
अहिले नयाँ सञ्चालक घनश्याम समूहले कम्पनी सकारेपछि बिग्रिएका पुराना विमान मर्मत गर्ने र अरू सीआरजे–७०० नयाँ विमान खरिद गर्ने घोषणा गरेको थियो । हाल सौर्यको एउटा मात्र विमानले आन्तरिक उडान भरिरहेको छ ।
from राष्ट्रिय – Rajdhani Daily https://ift.tt/2ziz2vZ
No comments:
Post a Comment