हुवावेकी कार्यकारी मेङ जमानतमा रिहा - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Thursday, December 13, 2018

हुवावेकी कार्यकारी मेङ जमानतमा रिहा

क्यानडाको एक अदालतले हालै पक्राउ परेकी चीनको विशाल दूरसञ्चार कम्पनी हुवावेकी कार्यकारी प्रमुख मेङ वान्झाउलाई जमानतमा रिहा गरेको छ । मेङमाथिको अभियोगबारे सुनुवाइ गर्ने क्रममा बुधबार अदालतले उनलाई रिहा गरेको हो । अमेरिकी सरकारको अनुरोधमा क्यानडाको भ्यानकुभरमा दुई साताअघि मेङ पक्राउ परेकी थिइन् । उनको पक्राउसँगै चीन र अमेरिकाबीचको सम्बन्ध पुनः चिसिएको छ ।

७५ लाख डलर जमानत माग
अदालतले मेङसँग ७५ लाख अमेरिकी डलर जमानत माग गरेको छ । भ्यानकुभरमा उनका पति लिउ झाओझोङको निवासमा बस्न मेङलाई अदालतले अनुमति दिएको छ । उनको पासपोर्ट क्यानडेली सरकारलाई बुझाउन र विद्युतीय अनुगमन गर्न पनि अदालतले फैसला गरेको छ । अदालतको आदेशपछि अदालत परिसरमा भेला भएका मेङका समर्थकले खुसीयाली मनाएका थिए ।

चीनको विरोध
अदालतबाट भएको सर्तसहितको जमानतप्रति पनि चीनले आपत्ति जनाएको छ । दुई दिनअघि चीनस्थित क्यानडाका राजदूतलाई बोलाएर उनी रिहा नभए क्यानडाले नराम्रो परिणाम भोग्नुपर्ने चीनले चेतावनी दिएको थियो । चीनका लागि क्यानडाका राजदूत जोन म्याककालमलाई विदेश मन्त्रालयमा बोलाएर मेङ प्रकरणबारे प्रस्टीकरण लिइएको थियो । चीनले मेङको पक्राउलाई ‘ठूलो मूखर्ता’ बताएको छ । उनले कुनै पनि कानुन उल्लंघन नगरेको चीनले जोड दिँदै आएको छ । उनको बेतुकको पक्राउले मानवअधिकार र अन्तर्राष्ट्रिय कानुनको उपहास गरेको चीनले बताएको छ ।

मेङमाथिको आरोप

क्यानडाको सुप्रिम कोर्ट अफ ब्रिटिस कोलम्बियामा क्यानडेली अभियोजनकर्ताहरूले मेङले सन् २००९ देखि २०१४ सम्म इरानमाथिको प्रतिबन्ध छल्न हुवावेको स्काई डटकम प्रयोग गरेको बताएका छन् । उनले स्काई डटकमलाई सार्वजनिक रूपमा एउटा अलग कम्पनीको रूपमा गलत प्रतिनिधित्व गरेको पनि उनीहरूले बताएका छन् । मेङले षड्यन्त्रपूर्वक एकभन्दा बढी वित्तीय संस्थामा ठगी गरेको अभियोजनकर्ताले बताएका छन् ।

अमेरिकी आरोप
अमेरिकाले इरानमाथि लगाएका प्रतिबन्धहरूको चिनियाँ कम्पनी हुवावेले उल्लंघन गरेको अमेरिकाले आरोप लगाउँदै आएको छ । मेङलाई डिसेम्बर १ तारिखमा भ्यानकुभरमा प्रहरीले पक्राउ गरेको थियो । अमेरिकी अधिकारीहरूले मेङको गिरफ्तारी चीनसँगको व्यापार मुद्दासँग नजोडिएको बताएका छन् । हुवावे प्रविधिको क्षेत्रमा चीनको विश्वव्यापी पहुँच रहेको महत्वपूर्ण कम्पनी हो । तर, हुवावेले उपलब्ध गराएका कतिपय सेवामाथि अमेरिका, अस्ट्रेलिया, न्युजिल्यान्ड र बेलायतले सुरक्षाको कारण दर्साउँदै प्रतिबन्ध लगाएका छन् ।

 दोषी ठहर भए ३० वर्ष जेल सजाय
हुवावेका संस्थापककी छोरी मेङमाथि इरानविरुद्धका अमेरिकी प्रतिबन्धहरूलाई बेवास्ता गरेर व्यापारिक सम्बन्ध कायम राखेको र बैंकहरूलाई ढाँटेको आरोप लागेको छ । मेङ दोषी ठहरिए उनलाई ३० वर्षभन्दा बढी जेल सजाय हुन सक्नेछ । आगामी फेब्रुअरी ६ बाट मेङलाई अमेरिका सुपुर्दगी गर्ने प्रक्रिया सुरु हुने क्यानडेली अधिकारीहरूले बताएका छन् । तर, कानुनी जटिलताका कारण यो प्रक्रिया पूरा हुन महिनौँ लाग्न सक्ने बताइएको छ ।

The post हुवावेकी कार्यकारी मेङ जमानतमा रिहा appeared first on Naya Patrika.



from Naya Patrika https://ift.tt/2Gdo4xH

No comments:

Post a Comment

Post Bottom Ad

Pages