छुईप्रथालाई समाजबाट मुक्त गर्ने अभियानमा जुम्लाका जनप्रतिनिधि जुटेका छन् । स्थानीय सरकार तथा सामाजिक संघसंस्था मिलेर महिला तथा धामीझाक्रीमा चेतना फैलाउँदै गाउँलाई छुईगोठ मुक्त गर्ने अभियानमा जुटेका हुन् ।
शुक्रबार महिला तथा सरोकारवाला निकायहरुले तिला गाउँपालिका – ८ पुरुगाउँलाई छुईगोठ मुक्त गरेको छ । तिला गाउँपालिकाको आयोजना तथा एक्सन वक्स नेपाल, जुम्लाको समन्वयमा महिनाबारी भएको अवस्थामा छुईगोठमा नबस्ने भन्दै सामुहिक रुपमा प्रतिबद्धता पत्रमा हस्ताक्षर गरी छुईगोठ मुक्त गाउँ घोषणा गरिएको हो ।
तिला गाउँपालिकाका अध्यक्ष रतननाथ योगीका अनुसार महिला र धामीझाक्रीलाई सचेतीकरण गर्दै सामाजिक कुसंस्कारका रुपमा रहेको छुई प्रथा गाउँ बस्तीबाट हटाउने अभियानमा लागेका छौं ।
यो अभियानमा निरन्तर लागि पर्ने उनले प्रतिबद्धता गरे । ‘यो अभियान कुनै धामीझाक्रीका विरुद्ध नभएर महिलालाई स्वास्थ्य र पोषणयुक्त खानासहित सामासिक तथा मानसिक हिंसाबाट बचाउने अभियान हो ।’ यसमा सबैको साथ र सहयोगको अपेक्षा गरिएको उनले बताए ।
तिला गाउँपालिका – ८ पुरु गाउँसहित ९ गाउँलाई छुईगोठ मुक्त गरिएको वडाध्यक्ष सन्तविर रावतले बताए । उनले भने ‘हामी गाउँपालिकालाई छुईगोठ मुक्त गरी सभ्य नागरिकको पहिचान दिने अभियानमा छौँ । ‘ पुरु गाउँका एक सय १९ घर घरधुरीमा तीन सय ८५ महिला र चार सय पाँच पुरुष गरी सात सय ९० जना रहेका छन् ।
जुम्लाका १७ गाउँबस्ती छुईगोठ मुक्त
जुम्लाका सात गाउँपालिका र एक नगरपालिकाका दुई सय १८ गाउँबस्ती मध्ये १७ गाउँबस्ती छुईगोठ मुक्त भएका छन् । तिला गाउँपालिकाको पुरु गाउँसहित पोख्री, रावतवाडा, जोगीवाडा, ढिमकोट, चुलाकोट, थापागाउँ, डुङरी, खोलीगाउँ छुईगोठ मुक्त भएका छन् भने तातोपानी गाउँपालिका, लाम्रा, श्रीनगर, हियाखोला, वाँईराँका र जैतपुर गाउँ यसअघि नै छुईगोठ मुक्त भइसकेका छन् ।
The post छुईगोठ मुक्त गर्ने अभियानमा जुम्लाका जनप्रतिनिधि appeared first on Naya Patrika.
from Naya Patrika https://ift.tt/2G2PjLk
No comments:
Post a Comment