जर्मनीमा मर्केलको पार्टीमा नयाँ उत्तराधिकारी चयन - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Sunday, December 9, 2018

जर्मनीमा मर्केलको पार्टीमा नयाँ उत्तराधिकारी चयन

जर्मन चान्सलर एन्जेला मर्केलले पार्टीको नेतृत्व त्यागेसँगै जर्मनीमा नयाँ नेतृत्व चयन भएको छ । मर्केलले क्रिस्चियन डेमोक्र्याटिक युनियन (सिडियू)को उच्च पद त्यागेपछि नयाँ नेतृत्वको चयन भएको हो । उनी विगत दुई दशकदेखि पार्टीको उच्च नेतृत्वमा थिइन् । पार्टी नेतृत्वमा असफल भएको भन्दै मर्केलको आलोचना भइरहेका वेला उनले नेतृत्व त्यागेकी थिइन् । उनले यसअघि नै सन् २०२१ मा राजनीतिबाट सन्न्यास लिने घोषणा गरिसकेकी छिन् ।

नयाँ बोतलमा पुरानो रक्सी
क्राम्पको विजयलाई अधिकांशले नयाँ बोतलमा पुरानो रक्सीको संज्ञा दिएका छन् । उनको विजयले सिडियूलाई खासै फरक नपर्ने बताइएको छ । ‘क्राम्पलाई धेरैले मर्केलकै निरन्तरताका रूपमा हेरेका छन् । तसर्थ, पार्टीलाई नौलो ढंगले अगाडि बढाउनेमा शंका छ,’ विश्लेषक डोमिनिक काने भन्छन् । ‘आगामी केही साता, महिना र वर्ष यी दुई महिलालाई विभिन्न पत्रकार सम्मेलनमा सामूहिक रूपमा देख्न सकिन्छ । मर्केलले बिस्तारै सरकारबाट पनि क्राम्पलाई शक्ति हस्तान्तरण गर्नेछिन् ।’ तर, क्राम्पको विजयले केही उत्साहित पनि भएका छन् । ‘क्राम्पको विजयले आगामी निर्वाचनमा पार्टीलाई सशक्त रूपमा अगाडि लानेछ,’ अर्थमन्त्री पिटर अल्टमेयरले भने ।

विवादबीच नयाँ नेतृत्व चयन
मर्केलले पदत्याग गरेपछि क्रिस्चियन डेमोक्र्याटिक युनियनमा आन्निग्रेट क्राम्प–कारेन्बर चयन भएकी छिन् । यसअघि उनी सिडियूका उपप्रमुख थिइन् । जर्मन सहर ह्यामबर्गमा भएको पार्टी महाधिवेशनले उनलाई नयाँ नेतृत्वमा चयन गरेको हो । नेतृत्वका लागि शुक्रबार दुई चरणमा मतदान भएको थियो । मर्केलकी विश्वासपात्र क्राम्प कारेन्बरले फ्रेडरिक मर्जलाई पराजित गरेकी हुन् । दोस्रो चरणको निर्वाचनमा क्राम्पले ५१७ मत पाएकी थिइन् भने मर्जले ४८२ पाएका थिए ।

यसअघि पहिलो चरणको मतदानमा क्रयाम्पले ४५० र मर्जले ३९२ मत ल्याएका थिए भने अर्का प्रतिस्पर्धी तथा स्वास्थ्यमन्त्री जेनस स्पाहन १५७ मत प्राप्त गरी पहिलो चरणबाटै बाहिरिएका थिए । मर्ज आप्रवासविरोधी नेताका रूपमा चिनिन्छन् । उनी मर्केलका कटु आलोचक हुन् । उनले दश लाखभन्दा बढी आप्रवासी र शरणार्थीलाई जर्मनीमा स्वागत गर्ने मर्केलको नीतिमाथि खुलेरै आलोचना गरिरहेका छन् । मर्ज सन् २००२ मा मर्केलसँग पराजित भएका थिए ।

आप्रवासीप्रति लचिली मर्केल
आप्रवासी र शरणार्थीका बारेमा नरम नीति अख्तियार गरेको आरोप सामना गरेकी मर्केलमाथि क्रिस्चियन डेमोक्र्याटिक पार्टी (सिडियू) छाड्ने दबाब बढेको थियो । ‘१८ वर्षसम्म पार्टीको अध्यक्षता गर्न पाएकामा मलाई गर्व लागेको छ । यो निकै लामो अवधि हो र यसबीचमा सिडियूमा धेरै उतारचढाव आएको छ,’ ह्यामबर्गमा आयोजित पार्टी भेलामा उनले भनिन् । तर, चान्सलरमा भने सन् २०२१ सम्म रहने उनले बताएकी छिन् । ‘हामीले मिलेरै चारवटा चुनाव जित्यौँ र म सन् २०२१ सम्म चान्सलर रहनेछु,’ उनले भनिन् । मर्केलले सन् २००५ देखि जर्मनीको नेतृत्व गरिरहेकी छिन् र पार्टी र देशलाई युरोप र विश्वकै राजनीतिक केन्द्रका रूपमा उभ्याएकी छिन् ।

The post जर्मनीमा मर्केलको पार्टीमा नयाँ उत्तराधिकारी चयन appeared first on Naya Patrika.



from Naya Patrika https://ift.tt/2rsoQgb

No comments:

Post a Comment

Post Bottom Ad

Pages